विकसित मुलुक र अल्पविकसित मुलुकहरूको विकास क्रमको फरक फरक मोडलहरू छन् । ती मोडलहरू कतिपय अवस्थामा सफल देखिएका छन् भने कतिपय अवस्थामा असफल देखिएका छन् । देशमा लामो समयसम्म चलेको राजतन्त्रको अन्त्य पछि प्राप्त भएको प्रजातन्त्रपछिका दिनहरूमा साँच्चै परिवर्तनका लागि केही न केही रूपरेखा कोरिएकै छन् ।
नेपालको सन्दर्भमा भन्ने हो भने विभिन्न समयमा भएका निर्वाचनहरूमा निर्वाचनमा होमिएकाहरूले गरेका बाचाहरू पुरा गर्ने सन्दर्भमा सबैभन्दा टट्कारो आवश्यकता जे थियो सोही अनुसार नै काम गरेका हुन तर देशकै आर्थिक अवस्था र पञ्चायत पछि बनेका सरकारहरूको एक वर्षभित्रै हुने आगमन र बर्हिगमनले पनि नेपालले सोचजस्तो विकास गर्न सकेन । अन्य क्षेत्रको विकासको गति र सञ्चार क्षेत्रको विकासको गति भने निकै भिन्न छ ।
ढुङ्गे युग वाट सुरु भएको समाजको सञ्चार दमाहा, धुवाँ, शङ्ख, रेखा हुँदै पछिल्लो २१ औँ शताब्दीमा पुग्दा यती धेरै विकसित भयो कि सञ्चारको रूपमा देखिएको पछिल्लो सामाजिक सञ्जालले यती छिटो सूचनामा फड्को मार्र्यो कि ? देशको भाग्य र भविष्य निर्धारण गरिदिने वा देशका सबै विषयहरूको छिनोफानो गरिदिने सम्मको अवस्थामा पुगेको विश्लेषणहरू सुरु भएका छन् ।
यसभित्र सत्यभन्दा असत्य धेरै भयो भन्ने तर्क पनि उतिकै छ । विकसित मुलुकहरूभन्दा सामाजिक सञ्जालको चर्चा अल्पविकसित मुलुकहरूमा धेरै देखिएको छ । सत्य स्थापित गरेर समाज परिवर्तनका लागि सामाजिक सञ्जालमा आउनुपर्ने विषयहरू कम आउने र भ्रामक सूचनाहरू छिटो भन्दा छिटो फैलिने क्रम बढेका कारण धेरैजसो अल्पविकसित मुलुकहरूले विकासको फड्को मार्न नसक्ने अवस्था आउने हो कि भन्ने बिषयपनि उतिकै सोचनीय बनिरहेको छ ।
एउटा युवा कामको खोजीमा बिदेसिनुपर्ने बाध्यताभित्र परिवार, घर, समाजको बाध्यता छँदै हुन्छ त्यो सँगै देशको अवस्थाले पनि यसभित्र केही न केही अर्थ राख्ने गर्दछ । युवा विदेश जान्छ विदेश सम्पन्न हुन्छ त्यहाँको शैली र विकासको गतिलाई देख्छ अनि सोच्छ नेपाल किन विकसित हुन सकेन कारणहरू धेरै हुन सक्छन् धेरै कारणहरू भित्र युवाको मनमा एउटा मात्र कुरा आउँछ नीति नियम प्रभावकारी बन्न सकेनन्, दुरगामी विकासका खाका निर्माण हुन सकेनन् र भ्रष्टाचार धेरै भएका कारण देशको विकास हुन सकेन अनि ऊ आक्रोसित हुन्छ र सामाजिक सञ्जालमा सबैलाई सत्तोसराप लेखेर गाली गर्छ यो उसको बाध्यता हो भन्ने विषयमा केही मन्थन गर्न त सकिएला तर वास्तविक धरातलभित्र पस्ने हो भने नेपालमा हुनुपर्नेजतिको विकास नहुनुको पछाडि विभिन्न दलबाट प्रतिनिधित्व गरेर बारम्बार सत्तामा पुग्नेहरूको पनि यो वा त्यो मात्रामा कमी कमजोरीहरू छन् ।
निर्वाचनमा स्पष्ट रूपमा कुनै पनि दलले बहुमत ल्याउन नसक्नु, बहुमत प्राप्त दल केही समयभित्रै पार्टी विभाजन हुनु यस्ता धेरै कारणहरूभित्र पछिल्लो आन्दोलनपछि पुनः नेपालमा निर्वाचनको तयारी भएको छ । सामाजिक सञ्जालमा आएका विभिन्न खाले टिप्पणीहरूको मात्र विश्लेषण गर्ने हो नेपालमा नयाँ दलले एकलौटी राज गर्न सक्छ भन्ने भाष्य खडा भएको देखिन्छ तर जसरी सामाजिक सञ्जालमा विषयहरू प्रवेश भएका छन् सोही अनुसारको मत व्यालेटमा खस्छ त ? यस पटकको निर्वाचनले एउटा कुरा स्पष्ट रूपमा स्थापित गर्न सक्ने देखिन्छ, सामाजिक सञ्जाल सबै हो त ? देशमा नीति, नियम, कानुन, छ । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामार्फत देशको संरचना परिवर्तन गर्न कित असहज छ यस्ता विषयहरूमा केही नयाँ पात्रहरूले थप जानकारी पाउनेछन् र सामाजिक सञ्जाल ठुलो कि जनताको मत प्रकट गर्ने व्यालेटबक्स ठुलो यो विषयको पनि छिनोफानो हुने देखिन्छ ।





